बागमती कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बस्दैछ । शनिबार (आज) दिउँसो २ बजे काठमाडौँमा बैठक बस्ने भएको हो । संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार बागमती प्रदेश सरकारको राजनीतिक तरलता, सरकारको भविष्यका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।
बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावमा समेत छलफल गर्ने कार्यसूची रहेको छ । यसअघिको संसदीय दलको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्ने निर्णय भइसकेकाले आजको बैठकले विश्वासको मत लिन मिति तय गर्ने सचिव महर्जनले बताए ।
यसअघिको निर्णय अनुसार मुख्यमन्त्री बानियाँले सरकारको निरन्तरताका लागि दलहरूसँग आवश्यक समन्वय गर्ने र विश्वासको मतका लागि पत्राचार गर्ने अधिकारसमेत तोकेको थियो । सोही अनुसार मुख्यमन्त्री बानियाँले दलहरूसँग समन्वय बैठक समेत गरेर औपचारिक रूपमा पत्र पठाउँदै समर्थन सहित विश्वासको मत दिन आग्रह गरेको उनले बताए ।
बदलिँदो राजनीतिक समीकरणका कारण गत साउन ६ गतेबाट मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा रहेको छ । संविधानतः मुख्यमन्त्री बानियाँले सरकार टिकाउन आगामी भदौ ४ गतेसम्ममा संसदबाट विश्वासको मत लिइसक्नु पर्ने अवस्था रहेको छ ।
बागमती सरकारबाट गत साउन ६ मा एमाले अलग भएपछि राजनीतिक अस्थिरता कायम रहेको छ । सत्ता साझेदारीको निर्णय सहित एमाले र नेकपाले बागमती सरकार बनाउने प्रक्रिया अघि बढाए पनि सफल हुन सकेको छैन । निर्णायक मानिएको राप्रपा सरकार गठनको खेलमा नलाग्ने निर्णय गरेसँगै बागमती सरकार अन्योल बनेको छ ।