तिनाउ खोलामा बगेका भारतीय युवाको शव बुटवलमा फेला
पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा शनिबार बिहान बगेका एक भारतीय युवाको शव बुटवलमा फेला परेको छ।
तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पौडी खेल्ने क्रममा बगेका भारतको उत्तर प्रदेश, सिद्धार्थनगरका २९ वर्षीय प्रभाष सोनीको शव बुटवल उपमहानगरपालिका–१५, उजेलापुर क्षेत्रमा फेला परेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार स्थानीयले दिएको सूचनाका आधारमा खोजी गर्ने क्रममा सोनीको शव केही घण्टापछि उजेलापुर क्षेत्रमा फेला परेको हो।
स्थानीयका अनुसार भारतबाट आएका तीन जना युवा शनिबार बिहान तिनाउ खोलामा पौडी खेल्न पुगेका थिए। उनीहरू पौडी खेलिरहेका बेला माथिल्लो तटीय क्षेत्रमा पानीको बहाव बढेपछि खोलामा एक्कासि पानीको सतह बढेको थियो। सोही क्रममा प्रभाषलाई खोलाले बगाएको बताइएको छ।
प्रभाष बगेपछि प्रहरीले स्थानीयको सहयोगमा खोजी कार्य अघि बढाएको थियो। केही घण्टापछि उनको शव बुटवल–१५ स्थित उजेलापुर क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ।