तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भारी वर्षाको सम्भावना छ। कर्णालीका पहाडी क्षेत्र र लुम्बिनीका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भू–भाग तथा लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मंगलबार र बुधबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागले वर्षाका कारण काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा बहाव बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा नदी तथा खोलाको बहाव बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।
उच्च जोखिम भएका क्षेत्रमा सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा स्थानीय प्रशासनको सूचनाको पालना गर्न विभागले अनुरोध गरेको छ।