पोखरा बसपार्कका ५६७ परिवारको अन्तिम विवरण टुंगियो
पोखरा । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ।
महानगरपालिकाले बसपार्क क्षेत्रमा बसोबास गरिरहेकाहरूको व्यवस्थापनका लागि निवेदन माग गरेपछि दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिन पूरा गरेको हो। वडा तहको सहजीकरण समितिले तयार पारेको अन्तिम विवरणअनुसार ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएका छन्।
महानगर प्रमुख धनराज आचार्यका अनुसार अन्तिम सूचीमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी रहेका छन्। यसअघि प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ गरी विभिन्न वर्गमा आवेदन परेका थिए।
दाबी–विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण गरेपछि अन्तिम विवरणमा परिवर्तन गरिएको हो। वडा तहको सहजीकरण समितिले अन्तिम विवरण वडा समितिसमक्ष पेस गरी महानगरपालिकामा सिफारिस गर्न प्रक्रिया अघि बढाएको छ।
वडा समितिले सहजीकरण समितिको प्रतिवेदनलाई नियमानुसार ग्रहण गर्दै आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ। अब महानगरपालिकाको कार्यपालिकाले प्रतिवेदनमाथि छलफल गरी जिल्ला समितिमा सिफारिस पठाउने तयारी गरेको छ।
प्रमुख आचार्यले वास्तविक भूमिहीन, भूमिहीन दलित तथा सुकुमबासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने बताए। उनले छानबिन र दाबी–विरोधको प्रक्रिया पूरा भएकाले अब व्यवस्थापनको काम निर्णायक चरणमा पुगेको बताए।
‘वास्तविक भूमिहीन, भूमिहीन दलित र सुकुमबासी परिवारको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अब निर्णायक चरणमा पुगेको छ,’ आचार्यले भने, ‘कसैलाई अन्याय नहोस् र वास्तविक पीडितले न्याय पाऊन् भन्ने उद्देश्यले छानबिन र दाबी–विरोधको प्रक्रिया पूरा गरेका छौं।’
महानगरले प्रक्रिया समयमै सम्पन्न भएमा अर्को सातादेखि बसपार्क क्षेत्रको सुकुमबासी बस्ती स्थानान्तरणको काम अघि बढाउने तयारी गरेको छ। त्यसका लागि सम्बन्धित सबै सरोकारवाला निकायसँग समन्वय गरी व्यवस्थित रूपमा स्थानान्तरण गरिने महानगरले जनाएको छ।
यता बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीले पनि निष्पक्ष छानबिनमार्फत वास्तविक सुकुमबासीको व्यवस्थापन गर्न महानगरलाई सहयोग गर्ने बताएका छन्। भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले विकासका लागि आफूहरू बाधक नबन्ने तर बसपार्क खाली गर्नुअघि वैकल्पिक व्यवस्थापन हुनुपर्ने बताए।
‘हाम्रो कारणले मात्र बसपार्क बन्न नसकेको होइन। धेरै कारण छन् यसमा। हामी बसपार्क बनाउन महानगरलाई सहयोग गर्न तयार छौं। हाम्रो वैकल्पिक व्यवस्थापन पहिला हुनुपर्छ,’ गुरुङले भने।
पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो। योजना बनेको करिब पाँच दशक बितिसक्दा पनि बसपार्क निर्माण हुन नसक्दा पृथ्वीचोक क्षेत्रको सडकपेटी र फुटपाथबाटै लामो तथा छोटो दूरीका बस सञ्चालन हुँदै आएका छन्।
बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा सुकुमबासी तथा अन्य व्यक्तिको बसोबास र अतिक्रमणका कारण निर्माण योजना अघि बढ्न सकेको थिएन। पछिल्लो समय महानगरपालिकाले बसपार्कभित्रका व्यापारिक सटर तथा कवलसमेत हटाएको छ।
बसपार्कको जग्गा खाली गरेपछि दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना महानगरपालिकाले अघि सारेको छ। अन्तिम विवरण टुंगिएसँगै अब बस्ती व्यवस्थापन र स्थानान्तरणसँगै लामो समयदेखि अलपत्र बसपार्क निर्माण योजनाले गति लिने अपेक्षा गरिएको छ।