वर्षाका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, केहीमा राति सवारी चलाउन रोक
काठमाडौं — लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। केही सडकखण्डमा बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन्।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकमा रातिको समयमा सवारी सञ्चालन गर्न नपाइने जनाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेको छ। सोही गाउँपालिकाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, गोसाइकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खसेपछि भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रोल्पाको थवाङ गाउँपालिका–२ लाद्रेमा पहिरो खस्दा सहिद राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण सडकमा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले प्रहरीले यात्रुलाई सावधानी अपनाउन, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।