माङसेबुङमा अपाङ्गता भएका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा
इलामको माङसेबुङ गाउँपालिकाले अपाङ्गता भएका नागरिक र उनीहरूको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि गाउँपालिकाले कार्यक्रमअन्तर्गत १२ लाख रुपैयाँ विनियोजन गरेको छ। अपाङ्गता भएका व्यक्ति र परिवारका गरी बढीमा पाँच जनासम्मको वार्षिक ३ हजार ५०० रुपैयाँ बीमा शुल्क गाउँपालिकाले व्यहोर्नेछ।
पाँच जनाभन्दा बढी सदस्य भए प्रतिव्यक्ति ७०० रुपैयाँ थप शुल्क लाग्नेछ। गाउँपालिकामा ३५५ जना अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ।
कार्यक्रमले आर्थिक रूपमा विपन्न अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई उपचारमा पहुँच बढाउनुका साथै स्वास्थ्य उपचारको आर्थिक भार कम गर्ने अपेक्षा गरिएको छ।