राहत, उद्धार र पुनर्स्थापनाका लागि सर्वदलीय समिति बनाउन रवि लामिछानेको प्रस्ताव
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्राकृतिक विपद्पछिको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सर्वदलीय समिति गठन गर्न प्रस्ताव गरेका छन्।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा जारी सर्वदलीय बैठकमा लामिछानेले विपद्को सामना गर्न सबै राजनीतिक दलको साझा संयन्त्र बनाएर अघि बढ्नुपर्ने धारणा राखेका हुन्।
उनले राहत, उद्धारदेखि पुनर्स्थापनासम्मको काम प्रभावकारी बनाउन सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्नुपर्ने प्रस्ताव गरे। यस्तो संयन्त्रले सरकारलाई आवश्यक निर्णय लिनसमेत सहज हुने उनको भनाइ छ।
लामिछानेले विपद्को समयमा सरकारी राहत तथा उद्धार कोषलाई एकद्वार प्रणालीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। सबै राजनीतिक दलले आ–आफ्नो ढंगले सहयोग गर्नुका साथै सरकारी कोषलाई केन्द्रमा राखेर एकीकृत रूपमा राहत तथा उद्धार अभियान सञ्चालन गर्नुपर्ने उनले बताएका छन्।
प्राकृतिक विपद्का कारण विभिन्न जिल्लामा जनधनको क्षति भइरहेका बेला सरकार, राजनीतिक दल तथा सरोकारवाला निकायबीच समन्वय बढाएर उद्धार, राहत र पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउनुपर्नेमा बैठकमा जोड दिइएको छ।