जसपा नेपालकी सांसद अम्बिका काफ्लेलाई पदबाट हटाउन सिफारिस
बुटवल — जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई दलबाट निष्कासन गर्दै प्रदेश सभा सदस्य पदबाट समेत हटाउन पार्टीको केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ।
जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले भदौ ८ गते पार्टीको केन्द्रीय कार्यसमितिलाई पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेश सभा सदस्यबाट हटाउने कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेका हुन्। सोही दिन संसदीय दलले प्रदेश सभा सचिवालयलाई समेत पत्र पठाएर काफ्लेलाई प्रदेश सभा सदस्यबाट हटाउन अनुरोध गरेको जनाएको छ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएपछि जसपा नेपालले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई नयाँ राजनीतिक समीकरणसहित निरन्तरता दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जसपा नेपालले मुख्यमन्त्री आचार्यलाई समर्थन गर्दै भदौ १ गते प्रदेश सभामा प्रस्तुत विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको थियो।
तर, सांसद काफ्ले भने दलको निर्देशनविपरीत विश्वासको मतसम्बन्धी बैठकमा जानाजानी अनुपस्थित भएको संसदीय दलको आरोप छ। दलको निर्देशन उल्लङ्घन गरेको विषयमा भदौ २ गते काफ्लेसँग स्पष्टीकरण माग गरिएको भए पनि उनले जवाफ नदिएको पत्रमा उल्लेख छ।
त्यसपछि भदौ ५ गते पुनः २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न मौका दिइएको तर काफ्लेले चित्तबुझ्दो जवाफ नदिएको संसदीय दलले जनाएको छ।
दलको निर्देशन उल्लङ्घन गरी सिङ्गो संसदीय दलको अवहेलना गरेको ठहर गर्दै काफ्लेलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) बमोजिम दलबाट निष्कासन गरी प्रदेश सभा सदस्य पदबाट हटाउने प्रक्रिया अघि बढाउन सिफारिस गरिएको हो।
संसदीय दलले अन्तिम कानुनी कारबाहीका लागि काफ्लेलाई दलबाट निष्कासन गर्ने निर्णय केन्द्रीय कार्यसमितिमा पठाएको जनाएको छ। साथै, पार्टी केन्द्रबाट अर्को निर्णय नभएसम्म काफ्लेलाई प्रदेश सभा सदस्यका रूपमा कायम नराख्न प्रदेश सभा सचिवालयलाई अनुरोध गरिएको छ।
काफ्ले जसपा नेपालको समानुपातिक निर्वाचन प्रणालीबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन्। लुम्बिनी प्रदेश सभामा जसपा नेपालका पाँच जना सदस्य रहेका छन्।