लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मत प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दैछ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकको सुरुवातमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने छन्। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि त्यसमा प्रदेशसभा सदस्यहरूले छलफल गर्नेछन्। छलफलका क्रममा सदस्यहरूले उठाएका प्रश्न, जिज्ञासा तथा सरकारका कामकारबाहीसँग सम्बन्धित विषयमा मुख्यमन्त्री आचार्यले जवाफ दिने कार्यक्रम छ। मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
लुम्बिनी प्रदेशसभामा कुल ८३ जना सदस्य छन्। सरकार सञ्चालनका लागि आवश्यक बहुमत हासिल गर्न कम्तीमा ४२ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री आचार्यले आवश्यक बहुमतभन्दा बढी प्रदेशसभा सदस्यको समर्थन जुटाउने गरी तयारी गरिरहेको बताइएको छ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। समर्थन फिर्तापछि सरकारको निरन्तरता सुनिश्चित गर्न मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।
आजको मतदानबाट मुख्यमन्त्री आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई प्रदेशसभाको समर्थन कायम रहने वा नरहने टुंगो लाग्नेछ।