भोटेकोशी बाढीपीडितका लागि नवलपरासी पूर्वका दुई पालिकाले २३ लाख दिने
नवलपरासी (बर्दघाट सुस्तापूर्व), २९ साउन — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)का दुई नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।
बाढीका कारण भएको मानवीय क्षति, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन्।
मध्यविन्दु नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख भीमलाल अधिकारीले जानकारी दिए। उनका अनुसार नगरपालिकाको पाँच लाख, जनप्रतिनिधिको चार लाख र कर्मचारीको तर्फबाट छ लाख रुपैयाँ गरी कुल १५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइनेछ।
नेपाल सरकारद्वारा सञ्चालित उद्धार, राहत तथा पुनःस्थापना अभियानप्रति ऐक्यबद्धता जनाउँदै विपद्बाट प्रभावित नागरिकको पीडामा साथ दिन नगरपालिका प्रतिबद्ध रहेको अधिकारीले बताए।
उनले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग, सहकार्य र सद्भाव प्रदर्शन गर्न मध्यविन्दु नगरवासीलाई अपिलसमेत गरेका छन्।
त्यसैगरी, देवचुली नगरपालिकाले आठ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए। नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिकाको तर्फबाट चार लाख तथा जनप्रतिनिधि र कर्मचारीको तर्फबाट चार लाख गरी कुल आठ लाख रुपैयाँ उद्धार कोषमा जम्मा गरिनेछ।
विपद्को यस दुःखद् क्षणमा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा विपद् व्यवस्थापनका कार्यमा सहयोग, समन्वय र सहकार्य गर्न सम्पूर्ण देवचुली नगरवासीलाई न्यौपानेले अपिल गरेका छन्।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले दुवै पालिकाले स्थानीय तह, जनप्रतिनिधि र कर्मचारीको सहभागितामा आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन्।