भदौ २३ गते जेनजी शहीदको स्मृति दिवस मनाइने
काठमाडौं — जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आगामी भदौ २३ गते ‘जेनजी शहीद स्मृति दिवस’ मनाउने भएका छन्।
जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २३ गते स्मृति दिवस आयोजना गर्ने जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा जेनजी शहीद श्रीयम चौलागाईंका पिता तथा जेनजी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा स्मृति दिवस आयोजना गरिने बताए।
उनले कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा खर्च सरकारले व्यहोर्नुपर्ने माग गरे।
‘हामी जेनजी आन्दोलनका शहीदको स्मृतिमा यही भदौ २३ गते स्मृति दिवस मनाउँदैछौँ। आन्दोलनका क्रममा जलाइएको बानेश्वरस्थित संसद् भवनभित्रै स्मृति दिवस मनाउँदैछौँ,’ चौलागाईंले भने।
शहीद तथा घाइतेका परिवार आर्थिक रूपमा कमजोर रहेको भन्दै उनले कार्यक्रमको स्वामित्व सरकारले लिनुपर्ने, तर आयोजक भने शहीद परिवार र घाइते नै रहने बताए।
त्यस्तै, आगामी असोज १५ गतेदेखि सातदिने महायज्ञसमेत सोही भवन परिसरमा आयोजना गर्ने तयारी रहेको उनले जानकारी दिए। उक्त कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी पनि सरकारले लिनुपर्ने उनको माग छ।
यस विषयमा आफूले गृहमन्त्रीसँग छलफल गरेको भए पनि प्रधानमन्त्रीसँग छलफल गरेर जानकारी दिने भनिए पनि अहिलेसम्म जवाफ नआएको चौलागाईंले बताए।
सरकारले यसअघि नै प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरिसकेको छ।