अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीसँग छलफल गर्दै
काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका ठूला बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा उच्चपदस्थ अधिकारीसँग छलफल गर्दै छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन्। छलफलका लागि ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई अर्थ मन्त्रालयमा आमन्त्रण गरिएको छ।
मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे सुरु हुने छलफलमा बहुराष्ट्रिय कम्पनीहरूले बजेटमार्फत प्राप्त गरेका सुविधा, नेपालमा लगानी गर्दा भोगिरहेका समस्या तथा लगानी विस्तारका सम्भावनाबारे छलफल हुनेछ।
अर्थमन्त्री वाग्लेले नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना तथा लगानीबाट प्राप्त प्रतिफल विदेश लैजाने प्रक्रियामा सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा कम्पनीका प्रतिनिधिलाई आफ्ना धारणा खुलस्त रूपमा राख्न आग्रह गर्नेछन्। साथै, सम्बन्धित समस्या तथा सुझाव लिखित रूपमा समेत पेश गर्न आग्रह गरिने मन्त्रालयले जनाएको छ।
बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो संख्यामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा योगदान पुर्याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन्।
यस्तै, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि बजेट कार्यान्वयन र आर्थिक क्षेत्रका विषयमा छलफल गरिसकेका छन्।