त्रिशूलीमा भेटिएका पहिचान नखुलेका शव चैनपुर जङ्गलमा व्यवस्थापन गरिने
तनहुँ — देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ।
भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवलाई भविष्यमा समेत पहिचान गर्न सकिने गरी आवश्यक प्रक्रिया पूरा गरेर जङ्गल क्षेत्रमा व्यवस्थापन गर्न लागिएको हो।
तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिनेछ। शव पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र व्यवस्थापन गरिने उनले बताए।
तनहुँ क्षेत्रमा हालसम्म ३७ शव फेला परेका छन्। तीमध्ये २४ शव पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको प्रशासनले जनाएको छ।
शवसँग सम्बन्धित आवश्यक विवरण तथा नमुना सुरक्षित राखिने जनाइएको छ। संवेदनशील विषय भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी शव व्यवस्थापनको काम अघि बढाइनेछ।