भोटेकोशी बाढीपछि बेपत्ताको खोजीमा २ हजार ८ सय सैनिक परिचालन
रसुवा — रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनका लागि नेपाली सेनाले खोजी तथा उद्धार अभियानलाई तीव्र बनाएको छ।
शव संकलन तथा खोजी कार्यमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो बढेपछि नेपाली सेनाले विशेष टोली परिचालन गरी सम्भावित स्थानमा खोजी तथा शव संकलन गरिरहेको जनाएको छ।
बाढीले बगाएर तल्लो तटीय क्षेत्रमा पुर्याएका हुन सक्ने शवको खोजीका लागि आज रसुवादेखि चितवनसम्मका नदी तटीय क्षेत्रमा थप १ हजार २ सय सैनिक परिचालन गरिएको सेनाले जनाएको छ।
सेनाले भोटेकोशी बाढी प्रभावित क्षेत्रसँगै त्रिशूली र नारायणी नदी किनारका सम्भावित स्थानमा सैनिक टोली खटाएर खोजी तथा शव संकलनलाई उच्च प्राथमिकतामा राखेको छ।
यसअघि बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाले १ हजार ६ सय जनशक्ति परिचालन गरेको थियो। थप १ हजार २ सय सैनिक परिचालन भएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा नदी तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालित सेनाको कुल जनशक्ति २ हजार ८ सय पुगेको छ।
नदीमा तीव्र बहाव र कठिन भौगोलिक अवस्था रहे पनि सैनिक टोलीले सम्भावित स्थान पहिचान गर्दै निरन्तर खोजी तथा शव संकलन गरिरहेको सेनाले जनाएको छ।
सेनाका टोलीले रसुवादेखि त्रिशूली हुँदै नारायणी नदीको तटीय क्षेत्रसम्म खोजी तथा निगरानी विस्तार गरेका छन्। बाढीले बगाएका नागरिक तथा शव टाढासम्म पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीको तल्लो तटीय क्षेत्रमा समेत खोजी केन्द्रित गरिएको छ।