मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
काठमाडौं । एसिसी पुरुष प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्ध अभ्यास खेल खेलिरहेको छ । खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।
एकदिवसीय (ओडीआई) ढाँचामा खेल भइरहेको यो अभ्यास खेललाई दुवै टोलीले प्रिमियर कपअघि अन्तिम तयारीका रूपमा लिएका छन् । प्रतियोगितामा नेपाल र मलेसिया एउटै समूहमा रहेकाले अभ्यास खेललाई विशेष महत्त्वका साथ हेरिएको छ ।
नेपाली टोलीले भारतको बेङ्गलुरुमा १० दिनको प्रशिक्षणसँगै कर्नाटकविरुद्ध दुई अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । त्यसपछि टोली प्रिमियर कपको तयारीका लागि मलेसिया पुगेको हो ।
मलेसियाविरुद्धको अभ्यास खेलले नेपाली टोलीलाई स्थानीय परिस्थितिमा खेल्ने अनुभवसँगै खेलाडीको फर्म र संयोजन परीक्षण गर्ने अवसर दिएको छ । प्रतियोगितामा नेपालले बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपालका लागि मलेसियाविरुद्धको खेल आफ्ना रणनीति र टोली संयोजनलाई अन्तिम रूप दिने महत्त्वपूर्ण अवसर बनेको छ ।