३६ घन्टामै दैवी प्रकोप उद्धार कोषमा जुट्यो १ अर्ब ९१ करोडभन्दा बढी
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टाको अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग जुटेको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको हो।
बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यससँगै विपद् प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोषमा सहयोग जुट्न थालेको हो।
कोषमा रकम संकलन तथा समन्वयको जिम्मेवारी अर्थ मन्त्रालयलाई दिइएको छ। मन्त्रालयलाई यसका लागि फोकल मन्त्रालय तोकिएको छ।
संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफैँमार्फत स्वीकार गरिरहेका छन्। व्यक्तिगततर्फको नगद सहयोग भने दाताले अर्थ मन्त्रालयमै पुगेर उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।
नयाँ सहयोग रकम थपिएसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत रहेको थियो।
यसअघि बिहीबार मात्रै ६ घन्टाको अवधिमा निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।
अर्थ मन्त्रालयका अनुसार हालसम्म संकलित रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग भने समावेश गरिएको छैन।