अमात्य र भीमदत्त पन्तको विरासतलाई थप उचाइमा पुर्याउन ओलीको आग्रह
काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन आग्रह गरेका छन्।
अमात्य र पन्तको स्मृति दिवसका अवसरमा शनिबार जारी श्रद्धाञ्जली सन्देशमा अध्यक्ष ओलीले नेपाल कम्युनिस्ट पार्टीका पूर्वमहासचिव तुलसीलाल अमात्यले किसान आन्दोलनलाई वैचारिक र सङ्गठनात्मक रूपमा सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेका छन्। सामन्तवादी भूस्वामित्वको अन्त्यका लागि ‘जसको जोत, उसको पोत’ भन्ने नारासहित किसानलाई आफ्नो हक-अधिकारका लागि सङ्गठित गर्न अमात्यले खेलेको भूमिका नेपाली राजनीतिक इतिहासमा सदैव स्मरणीय रहने उनको भनाइ छ।
सन्देशमा अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्धको सङ्घर्षका निडर र क्रान्तिकारी योद्धाका रूपमा स्मरण गरिएको छ। ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नारासहित उनले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानको पक्षमा आन्दोलनको नेतृत्व गरेको ओलीले उल्लेख गरेका छन्।
विक्रम संवत् २०१० साउन १७ गते भीमदत्त पन्तको निर्मम हत्या गरी किसान आन्दोलन दबाउने उद्देश्यले उनको शिर छिनालेर प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको इतिहासको अत्यन्त दुःखद अध्यायका रूपमा स्मरण गरिएको छ।
अध्यक्ष ओलीले अमात्य र पन्तको त्याग, समर्पण तथा क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीको रक्षा, सामाजिक न्याय, समानता र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नु नै उहाँहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्। साथै, किसान आन्दोलनका अमर शहीद भीमदत्त पन्त र नेता तुलसीलाल अमात्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको योगदान नेपाली राजनीतिक तथा किसान आन्दोलनको इतिहासमा सदैव सम्मानपूर्वक स्मरण भइरहने विश्वास व्यक्त गरेका छन्।