चिकित्सा शिक्षा सुधारको माग गर्दै ‘पेनडाउन’ घोषणा
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति र अनियमितताको विरोध गर्दै ‘चिकित्सा शिक्षा सङ्घर्ष अभियान’ले देशव्यापी चरणबद्ध आन्दोलन घोषणा गरेको छ।
निजी मेडिकल कलेज एसोसिएसनले सिट तथा शुल्क वृद्धि माग गर्दै आवासीय र इन्टर्न चिकित्सकको नियमित पारिश्रमिक रोकेको भन्दै अभियानले आपत्ति जनाएको छ। आन्दोलनको पहिलो चरणमा आज बुधबार दिउँसो १ बजेपछि पिजी तथा इन्टर्न चिकित्सकले पेनडाउन गर्ने घोषणा गरिएको छ।
अभियानले अर्बौंको कारोबार गर्ने निजी मेडिकल कलेजले पारिश्रमिक न्यून राखेको तथा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी श्रम शोषणमा परेको आरोप लगाएको छ। निजी मेडिकल कलेजलाई नियमन गर्ने निकाय प्रभावकारी बन्न नसक्दा हरेक वर्ष यस्ता समस्या दोहोरिएको अभियानको दाबी छ।
अभियानले चिकित्सक तथा स्वास्थ्यकर्मीका माग सम्बोधन गर्न र मेडिकल कलेजको सम्बन्धन तथा सञ्चालन अनुमतिबारे गम्भीर समीक्षा गर्न सरकारसँग माग गरेको छ। साथै, देशभरका आवासीय तथा इन्टर्न चिकित्सक, मेडिकल अफिसर र स्वास्थ्यकर्मीलाई आन्दोलनमा सहभागी हुन अपिल गरेको छ।