लुम्बिनीमा विश्वासको मतपछि मन्त्रिपरिषद् विस्तार, मन्त्रालय बाँडफाँटमा छलफल तीव्र
दाङ — लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रालय बाँडफाँट र मन्त्रिपरिषद् विस्तारबारे दलहरूबीच छलफल तीव्र भएको छ। सरकार गठन प्रक्रियाअन्तर्गत यसै साता मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।
एमाले नेतृत्वको नयाँ समीकरणमा नेकपा र जसपा नेपाललाई समेट्ने तयारी भइरहेको छ। सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे निरन्तर छलफल भइरहेको एमालेका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरीले बताएका छन्।
नेकपाका प्रमुख सचेतक इन्द्रजित थारूले पनि पहिले सरकारलाई विश्वासको मत दिने र त्यसपछि मन्त्रालय बाँडफाँट तथा सरकार विस्तारका विषय टुंग्याउने समझदारी बनेको जानकारी दिएका छन्। उनले मन्त्रालयको संख्या र भागबन्डाबारे भने अझै औपचारिक सहमति नभएको स्पष्ट पारे।
स्रोतका अनुसार नेकपालाई अर्थ मन्त्रालयसहित केही महत्वपूर्ण मन्त्रालय दिने विषयमा एमालेभित्र आन्तरिक छलफल भइरहेको छ। यद्यपि कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ।
लुम्बिनी प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय कायम छन्। अहिले सरकारमा एमालेका तर्फबाट मुख्यमन्त्रीसहित पाँच मन्त्री र जसपा नेपालका दुई मन्त्री रहेका छन्। नयाँ सत्ता समीकरणमा एमाले, नेकपा र जसपा नेपाललाई समेटेर सरकारलाई पूर्णता दिने तयारी भइरहेको छ।