बझाङ–बनलेक ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्यो, २,५०० मेगावाट विद्युत् प्रवाहको क्षमता
काठमाडौं । पश्चिम नेपालको विद्युत् पूर्वाधार सुदृढ बनाउन बझाङ–बनलेक (पश्चिम सेती) ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। करिब २,५०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको यस आयोजनाका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा निर्माण अनुमति माग्दै आवेदन दिएको हो।
प्रस्तावित प्रसारण लाइन करिब ६० किलोमिटर लामो हुनेछ। यो बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित प्रस्तावित चैनपुर सबस्टेसनदेखि डोटीको शिखर नगरपालिका–१० मा निर्माण हुने बनलेक (पश्चिम सेती) सबस्टेसनसम्म विस्तार हुनेछ।
आयोजनाअन्तर्गत चैनपुरमा ४००/१३२ केभी, १६० एमभीए क्षमताको सबस्टेसन तथा बनलेकमा ४००/१३२ केभी, ३१५ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिने योजना छ। प्रसारण लाइनका लागि १४३ वटा डबल सर्किट टावर निर्माण गरिनेछन्। टावरको अधिकतम उचाइ ६१ मिटर रहनेछ भने दुई टावरबीचको औसत दूरी करिब ४०९ मिटर हुनेछ।
निर्माणका लागि कुल २९५.४२ हेक्टर जमिन आवश्यक पर्ने अनुमान गरिएको छ। यसमध्ये ३०.४१ हेक्टर टावर निर्माणका लागि, २६५ हेक्टर विद्युत् मार्ग (राइट अफ वे) का लागि र २१.४१ हेक्टर सबस्टेसन निर्माणका लागि प्रयोग हुनेछ। सबस्टेसनका लागि आवश्यक जमिनमध्ये सात हेक्टर बनलेक र १४.३७ हेक्टर चैनपुर क्षेत्रमा पर्नेछ। प्रसारण लाइनको राइट अफ वे ४६ मिटर चौडाइको हुनेछ।
यो आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण तथा सञ्चालनका क्रममा भूक्षय, बाढी, वायु प्रदूषणलगायत वातावरणीय प्रभावलाई न्यूनतम राख्ने गरी काम गरिने जनाइएको छ।
विद्युत् विकास विभागले आयोजना सम्बन्धी आवश्यक सुझाव तथा सल्लाह उपलब्ध गराउन इच्छुक सरोकारवालासँग सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।