बाढीका कारण अवरुद्ध काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ–मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो, माटो तथा फोहोर थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। सडकमा थुप्रिएको लेदो तथा बाढीजन्य फोहोर पन्छाएपछि आजदेखि यातायात नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ।
उनका अनुसार बाढीका कारण सडकभरि लेदो थुप्रिएकाले यातायात सञ्चालनमा समस्या भएको थियो। लेदो पन्छाएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको हो।
“बाढीका कारण सडकभरि लेदो थुप्रिएको थियो। त्यो पन्छाएर सवारीसाधन सञ्चालन गरिएको छ। लामो समयदेखि राजमार्गमा अड्किएका सवारीलाई पनि सुरक्षित स्थानतर्फ पठाइएको छ,” प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले भने।
यद्यपि, धादिङको वैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक भने अझै एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
बाढी तथा पहिरोका कारण अवरुद्ध भएका सडक खुलाउने तथा यातायातलाई सहज बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले जानकारी दिए।