मधेसमा सर्पदंश बढेपछि एन्टी स्नेक भेनमको आपूर्ति बढाइयो
गर्मी बढेसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि प्रदेशका २७ वटै सर्पदंश उपचार केन्द्र तथा अस्पतालमा एन्टी स्नेक भेनम पठाउन सुरु गरिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका अनुसार माग र आवश्यकताका आधारमा औषधि वितरण भइरहेको छ।
सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा ३० र वीरगञ्जस्थित नारायणी अस्पतालमा १०० भायल औषधि तत्काल पठाइएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल ९०० भायल एन्टी स्नेक भेनम मौज्दात रहेको र थप औषधि आउने प्रक्रियामा रहेको जनाइएको छ।
नारायणी अस्पतालमा पछिल्ला दिनमा दैनिक १० देखि १५ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। अत्यधिक गर्मीका कारण रौतहट, बारा र पर्सालगायत जिल्लामा सर्पदंशका घटना बढेको बताइएको छ।
स्वास्थ्यकर्मीले राति झुल प्रयोग गर्न, घरवरपरको झाडी सफा राख्न तथा खेतबारीमा काम गर्दा बुट र सुरक्षात्मक सामग्री प्रयोग गर्न आग्रह गरेका छन्। सर्पले टोकेमा झारफुक नगरी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न पनि उनीहरूले सुझाव दिएका छन्।