नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको गैरकानुनी सम्पत्ति आर्जनको आरोपपत्र
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार सुडीले २०४६ सालदेखि २०८१ सालसम्मको अवधिमा आफ्नो पदको दुरुपयोग गरी ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको पाइएको छ।
अनुसन्धानका क्रममा सुडीको वैधानिक आय भने ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ रहेको देखिएको आयोगले जनाएको छ। तर, सोही अवधिमा उनको नाममा विभिन्न शीर्षकमा ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ बराबरको व्यय तथा लगानी भएको पाइएको छ।
वैधानिक आयको तुलनामा अस्वाभाविक रूपमा बढी सम्पत्ति तथा लगानी देखिएपछि आयोगले स्रोत नखुलेको रकमलाई गैरकानुनी सम्पत्ति आर्जनका रूपमा दाबी गर्दै मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०१७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का सम्बन्धित प्रावधानबमोजिम सुडीविरुद्ध आरोपपत्र दायर गरिएको हो।
साथै, गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुडीकी पत्नी सुमीत्रादेवी साहलाई समेत प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।
आयोगले स्रोत नखुलेको सम्पत्तिबराबरको रकम तथा त्यसबाट बढेबढाएको सम्पत्तिसमेत कानुनबमोजिम जफत गर्न माग गरेको छ।