चितवनमा औलो संक्रमण बढ्दो, गत वर्ष १५ जनामा पुष्टि
चितवन — चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये गत आर्थिक वर्षमा १५ जनामा औलो (मलेरिया) संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार तीन हजार ४१५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा औलो संक्रमण देखिएको हो।
जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितमध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति रहेका छन्। उनका अनुसार एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने गर्छ।
औलो लागेपछि लगातार वा दिन बिराएर ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाडो लाग्ने, शरीरमा कम्पन छुट्ने तथा पसिना आएपछि ज्वरो घट्ने जस्ता लक्षण देखिने गर्छन्।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आठ हजार ४०५ जनाको नमुना परीक्षण गर्दा ११ जनामा औलो संक्रमण पुष्टि भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८६० जनाको परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको थियो।
नेपालमा मुख्यतः प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम प्रजातिका औलो परजीवि पाइन्छन्। नेपालमा भाइभेक्स प्रजातिको संक्रमण बढी देखिने गरेको केसीले बताए। उनका अनुसार करिब ७० देखि ८० प्रतिशत संक्रमण भाइभेक्स परजीविबाट हुने गरेको छ।
फाल्सिपारम प्रजाति औलो संक्रमितमध्ये करिब १५ देखि २० प्रतिशतमा देखिने गरेको र यसले मानिसको स्नायु प्रणालीमा समेत असर गर्न सक्ने केसीले बताए। विशेषगरी विदेशबाट फर्किएका नेपालीमा फाल्सिपारम परजीवि भेटिने गरेको उनको भनाइ छ।
औलोबाट बच्न घर, गाउँ तथा समुदाय सफा राख्ने, लामखुट्टेले फुल पार्ने सम्भावित स्थान पुर्ने तथा राति सुत्दा झुलको प्रयोग गर्नेजस्ता सावधानी अपनाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ।