विदेशी डिग्रीको समकक्षता सेवा अब विश्वविद्यालय अनुदान आयोगबाट
काठमाडौं । विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रदान गर्ने सेवा अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत सञ्चालन भएको छ।
यसअघि त्रिभुवन विश्वविद्यालयले दिँदै आएको सेवा २०८३ साउन १ गतेदेखि कानुनी व्यवस्थाअनुसार आयोगमा हस्तान्तरण गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
आयोगले समकक्षता सेवाका लागि आवश्यक नियमावली तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाएको छ। नियमावली स्वीकृतिको प्रक्रियामा रहे पनि सेवा निरन्तर राख्न साउन ६ गतेदेखि अनलाइन आवेदन प्रणाली सञ्चालनमा ल्याइएको छ।
हालसम्म तीन हजार १६२ जना प्रयोगकर्ता दर्ता भएका छन् भने करिब एक हजार आवेदन प्रक्रिया अघि बढेको आयोगले जनाएको छ। विद्यार्थीले अनलाइनमार्फत आवेदन, शुल्क भुक्तानी र डिजिटल प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
आयोगले नयाँ प्रणालीबाट समकक्षता सेवा थप छिटो, सहज र पारदर्शी हुने अपेक्षा गरेको छ।