भोटेकोशी बाढीपछि सम्पर्कविहीन मधेसका २२ जना परिवारको सम्पर्कमा
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका मधेस प्रदेशका १७१ जनामध्ये २२ जना परिवारको सम्पर्कमा आएका छन्।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका विभिन्न जिल्लाका १७१ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये २२ जना टेलिफोनमार्फत परिवारको सम्पर्कमा आएका हुन्।
प्रहरीका अनुसार हालसम्म सप्तरीका ४५, पर्साका ३९, रौतहटका १७, बाराका २३, सर्लाहीका १५, महोत्तरीका १७, धनुषाका पाँच र सिरहाका १० जना सम्पर्कविहीन रहेको विवरण छ।
प्रवक्ता ढकालका अनुसार आज बिहानसम्म पर्साको पोखरिया नगरपालिका–५ का ओजिर अन्सारी, वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका–१२ का रोजितकुमार साह र स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता सम्पर्कमा आएका छन्।
त्यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी तथा ईशनाथ नगरपालिका–४ का सेख मजिद पनि सम्पर्कमा आएका छन्। चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि परिवारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ का बृजकिशोर दास, सुनिता दास र श्यामलाल मोक्तान तथा बागमती नगरपालिका–६ का दिपेश थापा पनि सम्पर्कमा आएका छन्।
महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव र इञ्जिनियर विपीनकुमार मण्डल तथा धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
त्यस्तै, सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकी पनि टेलिफोनमार्फत परिवारको सम्पर्कमा आएका छन्।
मधेस प्रदेशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि प्रहरीले खोजी तथा पहिचानका लागि विवरण संकलन गरिरहेको छ। बाढी तथा पहिरोपछि परिवार र आफन्तको सम्पर्कमा नरहेका व्यक्तिहरूको विवरण सम्बन्धित प्रहरी कार्यालयमार्फत संकलन भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए।
रोजगारी, व्यवसाय तथा अन्य कामका लागि मधेसका विभिन्न जिल्लाबाट रसुवा पुगेका नागरिकसमेत विपद्मा परेपछि उनीहरूका परिवार चिन्तित बनेका छन्।
प्रहरीले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय तथा स्थानीय प्रशासनलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।