जिम्बाब्वेमा भीषण सडक दुर्घटना : मिनीबसमा आगलागी हुँदा २७ जनाको मृत्यु
हरारे — दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र मालवाहक ट्रक आपसमा ठोक्किँदा २७ जनाको मृत्यु भएको छ।
प्रहरी प्रवक्ता पल न्याथीका अनुसार शुक्रबार राति सम्मेलनमा सहभागी हुन जाँदै गरेका चर्चका सदस्य सवार मिनीबस चिभु सहरनजिकै ट्रकसँग ठोक्किएको थियो। राजधानी हरारेबाट करिब १३२ किलोमिटर दक्षिणमा पर्ने मुख्य राजमार्गमा अर्को सवारीसाधनलाई उछिन्ने क्रममा ट्रक मिनीबससँग ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मिनीबसमा आगलागी भएको थियो। आगलागीका कारण मिनीबस पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीका अनुसार २३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइतेमध्ये थप चार जनाको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा दुवै सवारीसाधनमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरी प्रवक्ता न्याथीले बताएका छन्।
दुर्घटनामा मृत्यु हुनेहरू सेतो पोसाक लगाउने परम्पराका लागि परिचित अफ्रिकाको एक लोकप्रिय स्थानीय क्रिश्चियन सम्प्रदायका सदस्य रहेको बताइएको छ।
जिम्बाब्वेमा पछिल्ला दिनमा सडक दुर्घटनाका घटना बढिरहेका छन्। क्षमताभन्दा बढी यात्रु बोकेका बस तथा मिनीबस, नियमनबाहिर सञ्चालन हुने ट्याक्सी, तीव्र गति र चालकको लापरबाहीलाई दुर्घटनाका प्रमुख कारण मानिँदै आएको छ। सडकको खराब अवस्थाले पनि दुर्घटनाको जोखिम बढाउने गरेको अधिकारीहरूले बताएका छन्।
जिम्बाब्वेका अधिकारीहरूका अनुसार देशमा हुने सडक दुर्घटनामध्ये करिब ९४ प्रतिशत मानवीय त्रुटिका कारण हुने गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको अफ्रिकाका लागि आर्थिक आयोगका अनुसार अफ्रिकामा सडक दुर्घटनामा परी वार्षिक करिब तीन लाख मानिसको मृत्यु हुने गरेको छ। विश्वभर सडक दुर्घटनाबाट हुने कुल मृत्युमध्ये करिब एक चौथाइ अफ्रिकामा हुने गरेको आयोगको तथ्यांक छ।
करिब एक दशमलव पाँच अर्ब जनसङ्ख्या रहेको अफ्रिकी महादेशमा विश्वभर सञ्चालनमा रहेका कुल सवारीसाधनको करिब तीन प्रतिशत मात्रै रहे पनि सडक दुर्घटनाबाट हुने मृत्युदर भने विश्वमै उच्च रहेको आयोगले जनाएको छ।