अमेरिका–दक्षिण कोरिया–जापानले सेप्टेम्बरमा संयुक्त सैन्य अभ्यास गर्ने
सियोल । उत्तर कोरियासँग संवाद पुनः सुरु गर्ने प्रयास गरिरहेको अमेरिकाले दक्षिण कोरियासँगको वार्षिक सैन्य अभ्यासको अवधि घटाए पनि अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस)का अनुसार तीन देशले आगामी सेप्टेम्बर ७ देखि ११ सम्म जेजु टापुको पूर्व तथा दक्षिणतर्फको अन्तर्राष्ट्रिय जलक्षेत्रमा ‘फ्रिडम एज’ नामक संयुक्त सैन्य अभ्यास सञ्चालन गर्नेछन्।
अभ्यासमा समुद्री क्षेप्यास्त्र प्रतिरक्षा, हवाई तथा वायु प्रतिरक्षा, पनडुब्बीविरोधी युद्ध र साइबर प्रतिरक्षासम्बन्धी गतिविधि समावेश हुनेछन्।
जेसीएसका अनुसार उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र खतराको सामना गर्नुका साथै क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्ने उद्देश्यले तीन देशले वार्षिक रूपमा यो रक्षात्मक अभ्यास गर्दै आएका छन्।
सन् २०२३ को क्याम्प डेभिड शिखर सम्मेलनपछि पहिलोपटक सन् २०२४ जुनमा ‘फ्रिडम एज’ अभ्यास आयोजना गरिएको थियो। अमेरिकी प्रशान्त कमान्डकी प्रवक्ता लेफ्टिनेन्ट कमोडोर क्लो मोर्गनले अभ्यासले तीन देशबीचको अन्तरक्रियाशीलता बढाउँदै प्रशान्त क्षेत्रमा रक्षा साझेदारी थप सुदृढ गर्ने बताएकी छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरिया र अमेरिकाबीच हुँदै आएको वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यासको अवधि ११ दिनबाट घटाएर पाँच दिनमा सीमित गर्न निर्देशन दिएका थिए। उत्तर कोरियाली नेता किम जोङ–उनसँग संवाद अघि बढाउने प्रयास भइरहेकाले उक्त अभ्यास किमका लागि ‘निकै अपमानजनक’ रहेको ट्रम्पले बताएका थिए।
दक्षिण कोरियाले भने इरानसँगको युद्धका कारण अमेरिकी सैन्य स्रोत तथा जनशक्तिमा परेको दबाबलाई कारण देखाउँदै अर्को संयुक्त अभ्यास ‘साङ्योङ’ रद्द गरेको छ।
तर उत्तर कोरियाले अमेरिका र उसका सहयोगी मुलुकका सैन्य अभ्यासप्रति निरन्तर असन्तुष्टि जनाउँदै आएको छ। उसले यस्ता अभ्यासको प्रतिक्रियास्वरूप जबाफी कदम चाल्ने तथा क्षेप्यास्त्र प्रहार गर्न सक्ने चेतावनी दिँदै आएको छ।
यस अवस्थामा अमेरिका, दक्षिण कोरिया र जापानबीच हुन लागेको ‘फ्रिडम एज’ अभ्यासले उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र खतराविरुद्ध तीन देशबीचको सुरक्षा सहकार्यलाई निरन्तरता दिने संकेत गरेको छ।