बाढीबाट प्रभावित घाइतेहरूको काठमाडौँका १३ अस्पतालमा उपचार हुँदै
रसुवा भोटेकोशी बाढीमा परेर उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेहरूको उपचारका लागि राजधानीका विभिन्न १३ वटा अस्पतालहरूमा व्यवस्था मिलाइएको छ । घाइतेहरूको शीघ्र उपचार तथा उनीहरूका आफन्तलाई सहज सूचना पहुँच पुर्याउने उद्देश्यले सम्बन्धित अस्पतालहरूको नामावली र सम्पर्क नम्बर सार्वजनिक गरिएको छ ।
जसअनुसार महाराजगन्जस्थित टिचिङ अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्धस्थित वीर अस्पताल, नेपाल मेडिकल कलेज, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल र बलम्बुस्थित एपीएफ अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।
यस्तै अन्य शिक्षण तथा निजी अस्पतालहरूमा पनि घाइतेहरूको उपचार कार्य निरन्तर जारी छ । स्वयम्भूस्थित मनमोहन अस्पताल, बसुन्धरास्थित ग्रिनसिटी अस्पताल, धुम्बाराहीस्थित हेम्स अस्पताल, थापाथलीस्थित नर्भिक अस्पताल, धापासीस्थित ग्रान्डी अस्पताल, मनमैजुस्थित मनमैजु शुभम् अस्पताल र थापाथलीस्थित प्रसूति गृहमा पनि घाइतेहरूको उपचार भइरहेको जनाइएको छ ।
घाइतेका आफन्त तथा सरोकारवालाहरूले अस्पतालहरूमा सम्पर्क गरी बिरामीको अवस्था र उपचारबारे जानकारी लिन सक्नेछन् ।