खैरो हेरोइनसहित काठमाडौंसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंसहित विभिन्न जिल्लाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौंको मित्रनगरस्थित एक गेष्ट हाउसबाट ४३ ग्राम खैरो हेरोइन, डिजिटल तराजु दुई थान, ११ थान मोबाइल र ५० हजार रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हितबहादुर बस्नेत, रामकृष्ण शर्मा र धनञ्जय पासवान रहेका छन्। उनीहरूले भुजाको बोरामा लुकाएर लागूऔषध ल्याएको प्रहरीले जनाएको छ।
यस्तै, बर्दियाको बाँसगढी नगरपालिका–५ मैनापोखर चोकबाट ५४० मिलिग्राम खैरो हेरोइनसहित किरण नेपाली र सतिराम थारू पक्राउ परेका छन्।
त्यसैगरी, झापा गाउँपालिका–१ बाट १ ग्राम ६७ मिलिग्राम खैरो हेरोइनसहित विराज भुजेल पक्राउ परेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।