भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै पोल्ट्री किसानको प्रदर्शन
काठमाडौं — भारतीय कुखुरा तथा कुखुराजन्य वस्तुको अवैध आयात रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने र नेपाली पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने माग गर्दै पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा किसानहरूले चल्ला बोकेर सहभागी हुँदै भारतीय कुखुरा तथा कुखुराजन्य वस्तुको अवैध आयातका कारण नेपाली पोल्ट्री व्यवसाय प्रभावित भएको बताएका छन्। उनीहरूले तत्काल तस्करी नियन्त्रण गरी नेपाली किसानको उत्पादनलाई संरक्षण गर्न सरकारसँग माग गरेका छन्।
किसानहरूले बिचौलियाका कारण आफूहरूले उत्पादनको उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन्। पोल्ट्री क्षेत्रमा किसानको लगानी सुरक्षित हुने गरी प्रभावकारी नीति, बजार व्यवस्थापन तथा नियमित अनुगमनको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
त्यस्तै, नेपाली पोल्ट्री उद्योगलाई संरक्षण गर्दै उत्पादन लागतका आधारमा किसानले उचित मूल्य पाउने व्यवस्था गर्नुपर्नेमा पनि प्रदर्शनकारीले जोड दिएका छन्। उनीहरूले अवैध आयात र बजारमा हुने बिचौलियाको प्रभाव नियन्त्रण नगरे नेपाली पोल्ट्री किसानको लगानी थप जोखिममा पर्ने बताएका छन्।