यात्रुवाहक डुङ्गा पल्टिँदा उत्तरी साइप्रसमा ८ जनाको मृत्यु
उत्तरी साइप्रसको समुद्री क्षेत्रमा यात्रुवाहक डुङ्गा पल्टिँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । यस घटनामा १८ जना अझै बेपत्ता रहेको बताइएको छ । उत्तरी साइप्रसको स्वघोषित टर्किस प्रशासनका प्रधानमन्त्री उनाल उस्टेलका अनुसार आइतबार स्थानीय समयअनुसार करिब १२ः ३० बजे क्यारेनियाबाट टर्कीतर्फ प्रस्थान गरेको डुङ्गामा २५९ यात्रु र आठ जना चालक दलका सदस्य थिए ।
पानी पस्न थालेपछि डुङ्गा पल्टिएको थियो । दुर्घटनापछि अधिकांश यात्रुको उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । बेपत्ताको खोजी तथा उद्धारका लागि टर्कीका अधिकारीसँगको समन्वयमा अभियान सञ्चालन भइरहेको छ । दुर्घटनापछि डुङ्गाका कप्तानसहित चालक दलका सात सदस्यलाई पक्राउ गरिएको छ । दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रधानमन्त्री उस्टेलले बताएका छन् ।
दुर्घटनामा परेको डुङ्गा समुद्रमा पूरै डुबिसकेको बताइएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन त्यसमा रहेको ब्ल्याक बक्स रेकर्डर निकाल्ने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।
उस्टेलका अनुसार उक्त डुङ्गा खराब मौसमका कारण शनिबार टर्कीका लागि प्रस्थान गर्न सकेको थिएन । टर्कीको सञ्चारमाध्यम टीआरटीसँग कुरा गर्दै उनले डुङ्गा समुद्रमा रहेका बेला लगातार दुई ठुला छालको चपेटामा परेको बताएका छन् ।
उनका अनुसार पहिलो छालपछि क्याप्टेनले डुङ्गालाई नियन्त्रणमा लिन प्रयास गरिरहेका बेला दोस्रो छाल आएर डुङ्गामा पानी पस्न थालेको थियो । त्यसपछि डुङ्गा पल्टिएको थियो । दुर्घटनास्थलमा हेलिकप्टर तथा तट रक्षकका डुङ्गा परिचालन गरिएको छ । उद्धार गरिएका यात्रुलाई उपचार तथा आवश्यक सहायता उपलब्ध गराउन समुद्री किनारमा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ ।
घटनाको गम्भीर अनुसन्धान गरिने बताउँदै दुर्घटनामा कुनै किसिमको लापरबाही भएको भए त्यसलाई बाहिर ल्याइने प्रधानमन्त्री उस्टेलले बताएका छन् । दोषी वा जिम्मेवार जोसुकै भए पनि कारबाहीबाट नछुट्ने उनको भनाइ छ ।
उत्तरी साइप्रसको यातायात मन्त्री एर्हान अरिक्लीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार हालसम्म करिब १०० यात्रुलाई सुरक्षित रूपमा किनारमा ल्याइएको छ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले दुर्घटनाप्रति टर्किस साइप्रियटहरू प्रति समवेदना व्यक्त गर्दै बेपत्ताको खोजी तथा उद्धार कार्य निरन्तर भइरहेको बताएका छन् ।