रसुवा बाढीपीडितका लागि काठमाडौंमा स्वतःस्फूर्त राहत संकलन
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले स्वतःस्फूर्त रूपमा राहत सामग्री संकलन थालेका छन्।
काठमाडौंको माइतीघर मण्डलामा विभिन्न क्षेत्रका नागरिकहरू भेला भएर बाढी प्रभावितका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा बालबालिकाका लागि आवश्यक सामग्री संकलन गरिरहेका छन्।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएपछि तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी, कपडा, औषधि तथा स्वास्थ्य सामग्रीको अभाव हुनसक्ने भन्दै नागरिकस्तरबाट सहयोग जुटाउन थालिएको हो।
राहत संकलन अभियानअन्तर्गत विशेषगरी बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा विस्थापित परिवारलाई लक्षित गरी कपडा, जुत्ताचप्पल, कम्बल, सरसफाइका सामग्री तथा बालबालिकाका लागि आवश्यक सामग्री संकलन गरिएको छ।
संकलित सामग्रीलाई आवश्यकताअनुसार वर्गीकरण र प्याकिङ गरी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको आयोजकहरूले बताएका छन्। तत्काल उद्धार तथा राहतको आवश्यकता रहेका परिवारसम्म सामग्री पुर्याउन स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गर्ने तयारीसमेत भइरहेको छ।
राहत संकलनमा सहभागी नागरिकहरूले विपद्को समयमा सरकारी निकायसँगै समुदाय र सर्वसाधारणको सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुने बताएका छन्। उनीहरूले घरमा प्रयोगमा नआएका तर बाढी प्रभावितका लागि उपयोगी हुने सामग्री उपलब्ध गराउन तथा सक्नेले खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गरेका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा घर, सडक, पुललगायत भौतिक संरचनामा क्षति पुगेको र कतिपय परिवार विस्थापित भएको अवस्थामा नागरिकस्तरबाट जुटाइएको सहयोगले प्रभावित परिवारलाई तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ।