भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८ जना उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार उद्धार गरिएका घाइतेहरूको काठमाडौं उपत्यका तथा बाहिरका १२ वटा अस्पतालमा उपचार गरिएको थियो।
घाइतेमध्ये सबैभन्दा धेरै २७ जनाको उपचार सेन्टरमा भएको थियो। त्यस्तै, महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट २४ जना, वीर अस्पतालबाट १२ जना र ललितपुरस्थित बयोधा अस्पतालबाट पाँच जना उपचारपछि घर फर्किएका छन्।
नुवाकोटस्थित त्रिशूली अस्पतालबाट दुई जना तथा मिमैर्जु शुभम् अस्पतालबाट पनि दुई जना घाइते डिस्चार्ज भएका छन्। बाँकी घाइतेहरू अन्य विभिन्न अस्पतालबाट उपचारपछि घर फर्किएको केन्द्रले जनाएको छ।
वीर अस्पतालबाट डिस्चार्ज हुनेमा चिनियाँ नागरिक तथा बालबालिका समेत रहेका छन्। टिचिङ अस्पतालबाट पनि तीन महिनाका शिशुसहित घाइतेहरू उपचारपछि घर फर्किएका छन्।
बाढीका कारण घाइते भएकाहरूलाई तत्काल उद्धार गरी काठमाडौं उपत्यका तथा आसपासका विभिन्न अस्पतालमा उपचारका लागि ल्याइएको थियो। हाल उपचारपछि अधिकांश घाइतेहरू स्वास्थ्यलाभ गरी घर फर्किएको केन्द्रले जनाएको छ।