बाँकेमा थपिए ३ हजार ७७६ नयाँ मतदाता
नेपालगञ्ज । निर्वाचन आयोगले मतदाता नामावली दर्ता अभियान सञ्चालन गरेपछि बाँकेमा तीन हजार ७७६ जना नयाँ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ५२९ र नागरिकताका आधारमा एक हजार २४७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार ३७१ पुरुष र एक हजार १५८ महिला तथा नागरिकताका आधारमा ६५७ पुरुष र ५९० महिलाले नाम दर्ता गराएका छन्।
कार्यालयका अनुसार मतदाता नामावली दर्ता, त्रुटि सच्याउने र अद्यावधिक गर्ने कार्य निरन्तर जारी छ। युवा पुस्ताले विशेषगरी अनलाइनमार्फत नाम दर्ता गर्ने क्रम बढेको पनि कार्यालयले जनाएको छ।
विसं २०८२ को निर्वाचनसम्म बाँकेमा कुल तीन लाख ५० हजार ३७१ मतदाता दर्ता भएका थिए।