केरुङमा पहिरो र लेदोसहितको बाढी : मृतकको संख्या ७ पुग्यो, ५५४ अझै बेपत्ता
चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा बुधबार आएको पहिरो तथा लेदोसहितको बाढीमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। विपद्पछि चीनतर्फ ५५४ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
सिचाङको आपत्कालीन व्यवस्थापन विभागका अनुसार शनिबार बिहानसम्म स्थानीय दुई जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यलाई तीव्र पार्दै २ हजार १४१ जना उद्धारकर्मी र ८६ जना विशेषज्ञ परिचालन गरिएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार प्राकृतिक स्रोत तथा अन्य सम्बन्धित क्षेत्रका विशेषज्ञलाई समेत परिचालन गरी आसपासका भीर, सडक तथा अन्य जोखिमयुक्त क्षेत्रमा सम्भावित भौगर्भिक जोखिमबारे निरीक्षण भइरहेको छ।
सम्भावित थप विपद् रोक्न पहिरोका कारण बनेको तालको अवस्थाबारे निरन्तर निगरानी गर्न पाँच सदस्यीय अनुगमन टोलीसमेत परिचालन गरिएको छ। टोलीले तालको अवस्था र सम्भावित जोखिमबारे निगरानी गरिरहेको अधिकारीहरूले जनाएका छन्।
यसैबीच, विपद्का कारण अवरुद्ध भएको १.०२ किलोमिटर सडक सफा गरी पुनः सञ्चालनमा ल्याइएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
बुधबार बिहान नेपालतर्फबाट आएको पहिरो र लेदोसहितको बाढी चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङ काउन्टीस्थित केरुङ बन्दरगाहसम्म पुगेको थियो। बाढी तथा पहिरोका कारण सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुगेको छ भने उद्धार तथा खोजी कार्य जारी छ।