भोटेकोशीको बाढीले बगाएर ल्याएको सेफ फुटाई नगद चोरी गर्ने २९ जना पक्राउ
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ फुटाई त्यसमा रहेको नगद चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
बाढीले बगाएर ल्याएको उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४, बेलखुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो। स्थानीयले सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकालेर लगेको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल घटनास्थलमा टोली परिचालन गरेको थियो।
प्रहरीले छानबिन तथा खानतलासीका क्रममा घटनामा संलग्न भएको आरोपमा २९ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा गल्छी गाउँपालिका–४ मासटारका पवन पौडेल, वीरबहादुर रानामगर, बिनोद गिरी, नवराज भेटुवाल, पूर्णलाल श्रेष्ठ, विष्णुमणि अधिकारी, कृष्ण मगर, शिवबहादुर रानामगर, युवराज अधिकारी, सुचिमबहादुर रानामगर, सबिन श्रेष्ठ, प्रेमबहादुर रानामगर, अनिल भेटुवाल, रामशरण सुवेदी, मिनबहादुर रानामगर, देवेन्द्र रानामगर, दीपक तामाङ, राजकुमार भेटुवाल, दिनेश अधिकारी, दिनेश पुलामी, टेकबहादुर रानामगर र सन्तोष श्रेष्ठ रहेका छन्।
त्यस्तै, गल्छी–६ आदमघाटका सुसान्त श्रेष्ठ, नारायण श्रेष्ठ र अग्नि आलेमगर, गल्छी–८ सिमपानीका सानुभाइ श्रेष्ठ, सिद्धलेक–७ आदमटारका सानु खतिवडा, चितवनको राप्ती–६ घर भई आदमघाट बस्ने बिचारी आलेमगर तथा पर्साको बहुदरमाई–९ घर भई आदमघाट बस्ने सकुर अन्सारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बरामद भएको नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूबारे अनुसन्धान भइरहेको छ। नियन्त्रणमा लिइएका व्यक्तिमाथि पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।