शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गते राति पौने १० बजेको उडानमार्फत काठमाडौं आउने तयारीमा छन्।
यसअघि साउन ५ गते देउवाले बीपी कोइरालालाई स्मरण गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किन लागेको बताएका थिए।
देउवा उपचारका लागि गत फागुनमा सिंगापुर गएका थिए। स्वास्थ्य परीक्षणपछि उनी हङकङमा रहँदै आएका थिए।
कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधि, सर्वोच्च अदालतमा गगन थापालाई सभापतिको मान्यता दिने निर्णयसम्बन्धी मुद्दा पुनरावलोकन तथा पार्टीको आन्तरिक भेलाको तयारी भइरहेका बेला देउवा नेपाल फर्किन लागेका हुन्।