देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं — देशभर मनसुन वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ।
हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै, तराईका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने जनाइएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाले सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेर्न पनि अनुरोध गरिएको छ।