तीन दिन मौसम तुलनात्मक रूपमा कम सक्रिय रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर मनसुनजन्य मौसम तुलनात्मक रूपमा कम सक्रिय रहने जनाएको छ। आइतबार, सोमबार र मंगलबार मौसम धेरै सक्रिय नरहने भएकाले केही स्थानमा छिटफुट वर्षा भए पनि भारी वर्षाको सम्भावना कम रहेको विभागले जनाएको हो।
विभागका अनुसार आज देशका हिमाली र पहाडी भूभागका धेरैजसो स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। दिउँसोभन्दा रातिको समयमा बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बढी सक्रिय रहने अनुमान गरिएको छ।
कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक छ।
त्यस्तै, सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रसहित कर्णाली प्रदेशका पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मंगलबार कोशी र बागमती प्रदेशका पहाडी भूभाग, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।