देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, साउन — जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक तथा पूर्वमा सरदर स्थान आसपास रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली भूभाग, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान तथा मधेस, कोशी र बागमती प्रदेशका पहाडी र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।