पाकिस्तानमा यात्रुवाहक बस खोलामा खस्यो, ४० जनाको मृत्यु
पश्चिमी पाकिस्तानमा शुक्रबार भएको भीषण बस दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार बलुचिस्तान प्रान्तको क्वेटाबाट खैबर पख्तुनख्वाको पेशावरतर्फ जाँदै गरेको यात्रुवाहक बस झोब जिल्लाको दाना सार क्षेत्रमा सडकबाट करिब २० मिटरभन्दा बढी तल खोलामा खसेको हो।
झोब जिल्लाको आपतकालीन केन्द्रका प्रमुख सनाउल्लाह सेरानीका अनुसार दुर्घटनामा घाइते भएका ११ जनालाई अस्पताल भर्ना गरिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए।
दुर्गम पहाडी क्षेत्रमा दुर्घटना भएकाले उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ बलुचिस्तान र खैबर पख्तुनख्वा दुवै प्रान्तका उद्धार टोली घटनास्थलमा परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।
पाकिस्तानमा ट्राफिक नियम उल्लंघन, तीव्र गति, कमजोर सडक सुरक्षा मापदण्ड तथा लापरवाहीपूर्ण सवारी सञ्चालनका कारण यस्ता सडक दुर्घटना बारम्बार हुने गरेका छन्।