राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सप्तरी — जिल्ला प्रशासन कार्यालय सप्तरीले शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले राजविराज नगरपालिका क्षेत्रमा शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार कर्फ्यु आदेश राजविराज नगरपालिका क्षेत्रभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी थलही, उत्तरमा रूपनी रोडअन्तर्गत बसबिट्टी र दक्षिणमा कोशी पश्चिमी मूल नहरसम्म लागू हुनेछ।
प्रशासनका अनुसार पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन तथा अवाञ्छित गतिविधिका कारण शान्ति–सुरक्षामा प्रतिकूल असर पर्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको हो।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।