आज अन्तर्राष्ट्रिय मित्रता दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं — अन्तर्राष्ट्रिय मित्रता दिवस आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। व्यक्ति, समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रतामार्फत शान्ति, सद्भाव र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ मा घोषणा गरेपछि हरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै आएको छ। यस अवसरमा संयुक्त राष्ट्रसङ्घले सदस्य राष्ट्रका सरकार, अन्तर्राष्ट्रिय सङ्गठन तथा नागरिक समाजलाई संवाद, ऐक्यबद्धता, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धन गर्ने कार्यक्रम तथा अभियान सञ्चालन गर्न आह्वान गर्दै आएको छ।
राष्ट्रसङ्घका अनुसार विभिन्न समुदाय, संस्कृति र राष्ट्रबीचको मित्रताले शान्ति स्थापनाका प्रयासलाई बल पुर्याउनुका साथै विश्वास र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ।
महासभाले विशेषगरी युवालाई विभिन्न संस्कृति र समुदायसँग जोडिने सामाजिक गतिविधिमा सहभागी गराउँदै अन्तर्राष्ट्रिय समझदारी, विविधताको सम्मान र सहिष्णुताको भावना विकास गर्न जोड दिएको छ।
अन्तर्राष्ट्रिय मित्रता दिवस राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले अघि सारेको ‘शान्तिको संस्कृति’ अवधारणासँग पनि जोडिएको छ। युनेस्कोले हिंसा अस्वीकार, द्वन्द्वका मूल कारणको सम्बोधन तथा संवाद र सहकार्यका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ।
यस अवसरमा युनेस्कोले मित्रता, सम्मान, विविधताको स्वीकार र आपसी विश्वासमार्फत शान्तिपूर्ण तथा समावेशी विश्व निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।