काठमाडौंका पोलमा झुन्डिएका तार हटाइँदै, साउन दोस्रो सातासम्म ६ रुट सफा गर्ने लक्ष्य
काठमाडौं — काठमाडौं उपत्यकाका सडक पोलमा अव्यवस्थित र प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन तथा टेलिभिजनका तार हटाउन सरकारले समयसीमासहित कार्ययोजना अघि सारेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा बसेको अन्तरनिकाय बैठकले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल र इन्टरनेट सेवा प्रदायकलाई एकीकृत योजना बनाएर साउन दोस्रो साताभित्र पहिलो चरणको काम सक्न निर्देशन दिएको हो।
पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–गोंगबु, कीर्तिपुर र पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रका तार व्यवस्थापन गरिने भएको छ।
बैठकले सेवा प्रदायकलाई आफ्ना तारमा स्पष्ट पहिचान खुल्ने ट्याग राख्न र प्रयोगविहीन तार तत्काल हटाउन निर्देशन दिएको छ।
मन्त्री तिमिल्सिनाले अव्यवस्थित तार सबै निकायको साझा कमजोरीका कारण सिर्जना भएको भन्दै तत्काल समाधानमा केन्द्रित हुन आग्रह गरे। ऊर्जामन्त्री श्रेष्ठले दीर्घकालीन समाधानका लागि सबै निकायबीच सहकार्य आवश्यक रहेको बताए।
यसअघि दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र तार व्यवस्थापन गर्न निर्देशन दिए पनि अपेक्षित प्रगति नभएपछि सरकारले पुनः समयसीमासहित योजना अघि बढाएको हो।