३१ लाख लाइसेन्स छपाइ सम्पन्न, २९ लाख विभागलाई हस्तान्तरण
काठमाडौं, असार ३२ — सरकारले लामो समयदेखि थन्किएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सम्पन्न गर्ने अभियानअन्तर्गत सुरक्षण मुद्रण केन्द्रले ३१ लाख थान लाइसेन्स छपाइ सम्पन्न गरेको छ।
यातायात व्यवस्था विभागका अनुसार हालसम्म २९ लाख थान लाइसेन्स विभागलाई हस्तान्तरण भइसकेको छ भने बाँकी करिब दुई लाख थान लाइसेन्स छपाइपछि कटिङ प्रक्रियामा रहेका छन्।
विभागका सूचना तथा प्रविधि शाखाका निर्देशक केशव खतिवडाले करिब तीन लाख थान लाइसेन्स म्याद समाप्त हुने चरणमा पुगेकाले छपाइ नगरिने बताए। उनका अनुसार ती सेवाग्राहीले नागरिक एपमार्फत डिजिटल लाइसेन्स प्रयोग गर्न सक्नेछन्।
विभागले अब नयाँ लाइसेन्सका लागि आवश्यक विवरण प्राप्त भएको २४ घण्टाभित्रै कार्ड छपाइ हुने व्यवस्था मिलाइएको जनाएको छ। सरकारले गत चैत २३ गते असार मसान्तभित्र सबै बाँकी लाइसेन्स छपाइ सम्पन्न गर्ने निर्णय गरेको थियो।
यद्यपि, ‘जेन–जी’ आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग र विभिन्न यातायात कार्यालयमा भएको क्षति तथा विभागको मुख्य सर्भर आगलागीबाट नष्ट भएकाले केही समय प्राविधिक समस्या देखिएको विभागले जनाएको छ। हाल सिंहदरबारस्थित डाटा सेन्टरमा सुरक्षित रहेको तथ्यांकका आधारमा वैकल्पिक सर्भरमार्फत सेवा सञ्चालन भइरहेको छ।
यसैबीच, विभागले शुक्रबारदेखि लाइसेन्स नवीकरण तथा नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन दिएका सेवाग्राहीले राजस्वसमेत अनलाइनबाटै तिर्न सक्ने व्यवस्था लागू गरेको जनाएको छ। यससँगै राजस्व बुझाउन बैंक धाउनुपर्ने बाध्यता हटेको विभागको भनाइ छ।