धार्मिक तनावको समाधान संवाद र सहकार्यबाट सम्भव : हर्क साम्पाङ
काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनावको समाधान संवाद, सहकार्य र आपसी सम्मानबाट मात्रै सम्भव हुने बताएका छन्।
शुक्रबार जारी गरिएको सन्देशमा उनले नेपाल सबै नेपालीको साझा देश भएकाले सबै धर्म मान्ने नागरिकको अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गरेका छन्। त्यसका लागि सबै धर्म र धार्मिक आस्थाप्रति उच्च सहिष्णुता आवश्यक रहेको उनको भनाइ छ।
साम्पाङले श्रम संस्कृति पार्टीले सबै धर्मप्रति समान सम्मान राख्ने र कुनै धर्मलाई नजिक वा टाढाको दृष्टिले नहेर्ने स्पष्ट पारेका छन्।
हाल देखिएको धार्मिक तथा साम्प्रदायिक द्वन्द्व समाधानका लागि सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला पक्षले सकारात्मक मनस्थिति र प्रतिबद्धतासहित संवाद र सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।
उनले सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै श्रम संस्कृति पार्टी सधैं सकारात्मक सहयोग गर्न तयार रहेको बताएका छन्।
साम्पाङले धार्मिक सद्भाव खलबल्याउने वा परिस्थितिलाई थप बिगार्ने खालका अभिव्यक्ति नदिन सबैमा हार्दिक अपिल गरेका छन्।