सीमासम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षीको संसद् अवरोध कायमै
काठमाडौं — सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा विरोध कायमै राखेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए। सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै तत्काल जवाफ माग गरेका हुन्।
विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी सांसद गीता गुरुङलाई बोल्न समय दिएका थिए। सांसद गुरुङले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराई सांसदहरूका प्रश्नको जवाफ दिन सभामुखमार्फत रुलिङ गर्न माग गरिन्।
उनले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका व्यक्तिबाट युवाले ठूलो अपेक्षा राखेको भए पनि पुरानो राजनीतिक शैलीभन्दा फरक नेतृत्व देखिन नसक्दा आशा निराशामा बदलिँदै गएको बताइन्। प्रश्न उठ्दा विषयान्तर गर्ने वा प्रचारमुखी शैली अपनाउने प्रवृत्ति अब स्वीकार्य नहुने उनको भनाइ थियो।
सांसद गुरुङले सुकुम्वासीलाई स्थानान्तरण गर्ने नाममा पर्याप्त तयारीबिना डुबान प्रभावित क्षेत्रमा राखिएको र सरकारको अव्यावहारिक नीतिका कारण नौ जनाको मृत्यु भएको दाबी गरिन्।
यसैबीच, अन्य विपक्षी दलका सांसदहरूले पनि सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने माग कायमै रहेको बताएका छन्।