बागमती सरकारका एमालेका ६ मन्त्रीद्वारा सामूहिक राजीनामा
काठमाडौं, ६ साउन — केन्द्रको सत्ता गठबन्धनमा फेरबदल भएपछि बागमती प्रदेश सरकारका नेकपा (एमाले) का ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
एमालेका तर्फबाट सरकारमा सहभागी कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाएका हुन्।
काठमाडौं फर्किएलगत्तै उनीहरूले मुख्यमन्त्री कार्यालय पुगेर सामूहिक राजीनामा बुझाएका थिए। एमाले मन्त्रीहरूले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ।
बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनमा सरकार बनेको थियो। मुख्यमन्त्री बानियाँ नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका हुन्।