वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै
वैदेशिक रोजगारीमा ठगीमा परेका श्रमिकले अब घरमै बसेर अनलाइनमार्फत उजुरी दिन सक्ने भएका छन्। सरकारले ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ पोर्टल सञ्चालनमा ल्याएपछि वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यता हटेको हो।
युवा, श्रम तथा रोजगार मन्त्रालयले सञ्चालनमा ल्याएको प्रणालीमार्फत उजुरी दर्ता, कारबाहीको अवस्था र प्रगतिबारे अनलाइनबाटै जानकारी लिन सकिनेछ। उजुरी दर्तापछि सेवाग्राहीलाई मोबाइल र इमेलमार्फत जानकारी पठाइने तथा ट्रयाकिङ कोडमार्फत उजुरीको अवस्था हेर्न सकिने व्यवस्था गरिएको छ।
साउन १ गतेदेखि सुरु भएको प्रणालीमार्फत चार दिनमै १४ वटा उजुरी दर्ता भएको विभागले जनाएको छ। सरकारले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र पीडितलाई छिटो न्याय दिलाउने उद्देश्यले अनलाइन सेवा सुरु गरेको जनाएको छ।